Tuesday, 17 April 2018

एक्लोपन वरदान कि अभिषाप ? यसो भन्छ अनुसन्धान



क्रिस्टिन रो
मानिस एक सामाजिक प्राणी हो । अर्थात्, उनीहरु एक्लो जीवन बाँच्न सक्दैनन् । घुलमिल हुन, समय बिताउन, पार्टी गर्न र जमघट गरेर चाडपर्व मनाउनु हाम्रो रगतमै छ र यो हाम्रो लागि अत्यावश्यक पनि ।
यसको विपरित यदि कोही एक्लै बस्न चाहन्छ, मानिसहरुसँग घुलमिल हुन चाहँदैन, कोही व्यक्तिसँग समय बिताउनका लागि दोस्रो व्यक्ति कोही छैनन् भने यसलाई एउटा ठूलो समस्याको रुपमा हेरिन्छ ।
यसै कारण, एक्लोपनलाई सजायँको रुपमा प्रयोग गरिन्छ । मानिसहरुलाई जेलमा एक्लै कैद गरेर राखिन्छ । दिमागी रुपमा रोगीहरुलाई जन्जिरले बाँधेर एक्लै राखिन्छ ।
एक्लोपन यदिसम्म खतरनाक छ कि आज थुप्रै देशमा एक्लोपनलाई रोगको रुपमा दर्ता गरिएको छ । एक्लोपनबाट उत्रनका लागि मानिसहरुलाई मनोवैज्ञानिक मद्दत प्रदान गरिन्छ ।
त्यसोभए के साँच्चै नै एक्लोपन निकै खतरनाक छ त ? कि हामी यसबाट बच्नुपर्छ ?
धेरै मानिसहरु यसको जवाफ ‘होइन’ भनी दिन चाहन्छन् । उनीहरु पार्टी वा कुनै उत्सवमा जान चाहँदैनन्, मानिसहरुलाई सकेसम्म भेट्न नपरोस् भन्ने सोच्छन् ।
एक्लो बस्नुका फाइदा के ?
यस्ता धेरै मानिसहरु छन् जो एक्लै बस्न रुचाउँछन् ।
अमेरिकी लेखिका एनेली रुफसले ‘पार्टी अफ वनः द लोनर्स मेनिफेस्टो’ नामक किताबमा एक्लो बस्नुका फाइदाबारे वर्णन गरेकी छिन् । उनी भन्छिन्, ‘एक्लो बस्नुका निकै फाइदा छन् । तपाईं आफूमाथि केन्द्रित हुन पाउनुहुन्छ । आफ्नो रचनात्मक क्षमतालाई वृद्धि गर्न पाउनुहुन्छ । मानिसहरुलाई भेटेर बेकारका कुरा गर्नु वा झुटा ठट्यौली र हाँसोमा आफ्नो समय बर्बाद गर्नुको साटो एक्लो समय बिताउनुहोस् ।’
यस्तै, ब्रिटिश रोयल कलेज अफ जनरल प्राक्टिसनर्सका अनसार एक्लोपन मधुमेहजस्तो भयानक रोग हो । यसले पनि त्यति नै व्यक्तिको ज्यान लिन्छ जति मधुमेहले । एक्लोपनले हाम्रो सोच बिचार गर्ने शक्तिलाई कमजोर बनाउँछ  । एक्लो बस्दा हाम्रो चालचलनमा प्रतिकुल असर पर्छ । रोगसँग लड्ने हाम्रो क्षमता क्षीण हुँदै जान्छ ।
एक्लै बस्दा बढ्छ रचनात्मकताः
एक्लै बस्नु, पार्टी–उत्सवबाट टाढै रहनु र साथीभाइसँग भेट्न आनाकानी गर्नु यदि तपाईंको स्वनिर्णय हो भने यो निकै फाइदाजनक हुन्छ ।
अमेरिकाका सेन जोस युनिभर्सिटीकी ग्रेगरी फिस्टले यसबारे अनुसन्धान गरेकी छिन् ।  आफूसँग समय बिताउँदा तपाईंको रचनात्मक क्षमतामा निकै वृद्धि हुने फिस्टको निष्कर्ष छ । यसले तपाईंको आत्मविश्वास बढाउँछ । स्वतन्त्र विचार पैदा हुन्छ । नयाँ सोच विचारलाई तपाईं खुलेर स्वागत गर्नुहुन्छ ।
केही समय एक्लै बिताउनुहुन्छ भने तपाईंको मन आनन्दित हुन्छ । हल्लाखल्लाबाट टाढा एक्लै बस्दा तपाईंको दिमागले स्मरण शक्तिलाई बलियो बनाउँछ । तपाईं पुराना कुराहरुबारे सोचेर आफ्नो स्मरण शक्तिलाई बढाउन सक्नुहुन्छ ।
किन एक्लै बस्न चाहन्छन् मानिसहरु ?
अमेरिकाकै बफैलो युनिभर्सिटीकी मनोवैज्ञानिक जूली बोकरको अनुसन्धानले फिस्टको दाबीलाई बलियो बनाएको छ ।
जूली भन्छिन्, मानिसहरु तीनवटा कारणले अरुसँग घुलमिल हुनबाट बच्छन् । कोही लजालु हुन्छन् त्यसकारण मानिसहरुसँग घुलमिल हुन चाहँदैनन् । यस्तै, कसैलाई पार्टीमा हुने हल्लाखल्ला मन पर्दैन त्यसकारण जान चाहँदैनन् । यस्ता पनि कोही हुन्छन् जो मिलनसार हुँदा हुँदै पनि एक्लै समय बिताउन चाहन्छन् ।
जूली र उनको समूहले अनुसन्धानमार्फत एक्लै बस्न रुचाउने व्यक्तिहरुको रचनात्मक क्षमतामा वृद्धि हुने पत्ता लगाएको छ । एक्लै हुँदा उनीहरु आफ्नो काममा बढि ध्यान दिन पाउँछन्, बढि केन्द्रित हुन पाउँछन् । जसका कारण उनीहरुको रचनात्मकतामा वृद्धि हुन्छ ।
धार्मिक ग्रन्थमा एक्लै तपस्या, ध्यान गर्न सल्लाहः
हुन त एक्लोपनको फाइदा बताउने यी मनोवैज्ञानिकले केही न केही नयाँ कुरा गरि नै रहन्छन् । हिन्दुदेखि बौद्ध धर्मसम्मका ग्रन्थीले एक्लै तपस्या र ध्यान गर्न सल्लाह दिएको छ ।
वास्तवमा एक्लो रहँदा हाम्रो दिमाग आरामको मुद्रामा रहन्छ । आरामदायी अवस्थामा दिमाग स्मरण शक्ति बलियो बनाउन र स्थितीलाई राम्रोसँग बुझ्न लागीपर्छ ।
यस्तै, तपाईं कसैसँग हुनुहुन्छ भने तपाईंको ध्यान बाँडिन्छ । तपाईंको मनले शान्ती पाउँदैन ।
ग्रेगरी फिस्टका अनुसार यदि कोही व्यक्ति एक्लै बस्न र आफैंसँग समय बिताउन चाहन्छ भने यसले उनीहरुलाई फाइदा नै पुर्याइरहेको हुन्छ ।
तर पार्टीमा रमाउने व्यक्तिहरु अचानक एक्लै बस्न थाले भने चाहिँ यो समस्याको कुरा हो ।
एकाध साथी बनाएर उनीहरुसँग क्लालिटी समय बिताउँदा राम्रो हुन्छ । दैनिक पार्टी गर्नेहरुले पनि कहिले काँही एक्लो समय बिताउनुपर्छ । आफूमा केन्द्रित हुनुपर्छ । चिन्तन मनन गर्नुपर्छ । यो तालमेल बनाउन सके यसले सबैभन्दा राम्रो प्रतिफल निम्त्याउँछ ।  
बीबीसी हिन्दीबाट 

No comments:

Post a Comment

Popular Posts